He is President of Karobar Daily Newspaper, and Chairman of Society Of Ecnonomic Journalist of Nepal. Working for more than one decade on the field of News and Media. We got a chance to take his personal interview. Please do have a look at his journey till now.

१ तपाई कुन क्षेत्रका लागि भावुक हुनुहुन्छ ?
झण्डै २ दशक पत्रकारिता क्षेत्रमै विताएको तथा एकेडेमिक रुपमा समेत पत्रकारितामै एमफिलसम्मको अध्ययन गरेको नाताले मेरो पत्रकारिता क्षेत्रसँग गहिरो नाता र सम्बन्ध छ । केन्द्रमा रहेर नीतिगतदेखि जिल्लामा रहेर कार्यान्वयनगत तहसम्मको अनुभव मसँग छ । पत्रकारितामार्फत विकास निर्माणमा मुद्दामा धेरै कलम चलाएको छु । विगतमा पत्रकारिता पेशामा बाँच्न कठिन भएपनि अहिले यही पेशामा लागेर आफू र परिवारलाई सजिलै पाल्दै आएको छु । यसकारण पत्रकारितासँग मेरो भावनात्मक सम्बन्ध छ । म पत्रकारिता पेशाप्रति गौरव गर्छु । व्यक्तिगत र व्यवसायिक दुवै रुपमा मेरो पत्रकारिता क्षेत्रसँग गहिरो भावनात्मक सम्बनध छ । पत्रकारिताविनाको मेरो जीवन फिक्का बन्छ । मेरो व्यक्तिगत जीवनसँग सबैभन्दा जोडिएर पत्रकारितानै आउँछ । पत्रकारितामा आवद्ध भएकोमा कुनै ग्लानी पश्चाताप छैन, बरु गौरव र खुशीयाली छ । पत्रकारिताविनाको जीवन म कल्पना पनि गर्न सक्दिन ।

२ यदि कुनै आमदानीको श्रोत नदिए पनि तपाई कुन क्ष््रोत्रमा आवद्घ हुनुहुन्थ्यो ?
पत्रकारिता क्षेत्र नेपालमा यसरी संस्थागत रुपमा विकास हुँदै गएको छकि यसमा पेड नगर्ने कुरै हुँदैन । यदि पे भएन भने त जीवन धान्न कठिन हुन्छ । जीवन धान्न कठिन भएपछि व्यवसायिक पत्रकारिताको कुरा धेरै टाढाको कुरा बन्छ ।


३ तपाई के काममा सोचे भन्दा धेरै राम्रो हुनुहुन्छ ?
पत्रकारितामा मेरो व्यक्तिगत रुपमा त्यस्तो अचम्मको कुरा केही छैन तर पत्रकारिता अहिले अचम्मकै पेशा हो । हरेक दिन नयाँ नयाँ सूचना खोज्ने पेशा आफैमा अचम्मको हुन्छ । हरेक दिन यस्ता सूचना खोज्नका लागि कुद्दा खेरीका क्षणहरु त अचम्मकै हुन्छन् । पत्रकारितामा जे कुरा कसैले सार्वजनिक गर्न खोज्छ, त्यो विज्ञापन हो र जुन कुरा लुकाउन खोज्छ, त्यो समाचार हो भनिन्छ । असामान्य र अचम्मका कुरा मात्र समाचार हुन्छन् भन्ने मान्यता हुन्छ । यसकारण हरेक क्षण यस्ता सूचना खोज्नमै पत्रकारितामा सकृय हरेक व्यक्ति कृयाशिल हुन्छन् ।


४ तपाईको जीवनका अविस्मरणिय कुनै पलहरु सम्झिन चाहनुहुन्छ ?
पत्रकारिता जीवनका हरेक क्षणहरुमा स्मरणीययोग्य क्षणहरु छन् । सबै त यहाँ उल्लेख गर्न पनि सकिदैन । माओवादी द्धन्द्धको बेला माओवादीको कार्यक्रममा सहभागी हुँदा सेनाको हेलिकप्टर घुम्दा ज्याननै जाने भयो भनेर डराएकोदेखि माओवादीले हाम्रो पक्षमा नलेखेको भनेर सफाई गर्ने घोषणा गर्दाको त्रासका घटनाहरु प्नि छन् । समाचार लेखेकै कारण २४ बर्षदेखि बन्द काभ्रेको भीमखोरीस्थित जुगेपानी चीज कारखाना सञ्चालन भएदेखि नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर काण्डको समाचार लेखेको कारण तत्कालीन कार्यकारी निर्देशक जेल जानुपरेको घटना पनि ताजै छन् । समाचार लेखेकै कारण धेरै विकास र प्रगति भएका उदाहरण छन् । काभ्रेको डाँडापारी र कोशीपारीका खानेपानी, सडकदेखि गरिबीसम्मका कथा लेखेर आफ्नो जीवनको पत्रकारिताको यात्रामा धेरै स्मरणीय क्षणहरु पनि बनेका छन् ।


५ कति लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ ?
प्त्रकारितामै प्रवेश गरेको त २०५५ सालदेखि हो । २०५५ सालमा काठमाण्डौबाट प्रकाशित हुने गतिविधि साप्ताहिकबाट पत्रकारिता सुरु गरेको हो । जीवीकोपार्जनका लागि गाह्रो भएपछि म २०५८ सालमा रेडियो नेपालको काभ्रे संवाददाता भएर आफ्नो जिल्ला फर्किए । रेडियो नेपालमा समाचार कसरी आउँछ भनेर जिज्ञासु मेरो लागि रेडियोमै बोल्ने अवसर मिल्यो । त्यसपछि मेरो पढाईमा केही ब्रेक लाग्यो तर पत्रकारिताको यात्रा जारी रह्यो । काभ्रेमा बसेर पत्रकारिताको पढाईलाई सुस्तसुस्त बन्यो तर पढ्न छोडिन । स्नात्तकसम्मको पढाई काभ्रेमै बसेर सकाएँ । स्नाकोत्तरको पढाई भने केही ढिला भयो । काभ्रेमा बसेर राष्ट्रिय समाचार समिति, नेपाल वान टेलिभिजन, इमेज च्यानल र राजधानी दैनिकको काभ्रे संवाददाताको रुपमा काम गरे । साथै स्थानीय काभ्रेको पहिलो दैनिक पूर्वीय दर्पण दैनिकका साथै काभ्रेपोष्ट साप्ताहिक, इन्द्रावती साप्ताहिक, सुनकोशी साप्ताहिक, सञ्जीवनीपत्र दैनिक÷साप्ताहिक लगायतमा काम गरे । फेरि १० बर्ष काभ्रेको पत्रकारिताबाट काठमाण्डौ फर्किए । सौर्य दैनिक, राजधानी दैनिक हुँदै अहिले कारोबार दैनिकमा आवद्ध छु । अहिले २० बर्ष भयो । निरन्तर रुपमा पत्रकारिता गरिरहेको छु । काभ्रेमा छँदा सबै क्षेत्रको समाचार संकलन गर्नुपर्दथ्यो । अहिले काठमाण्डौ आएपछि विशेष गरी आर्थिक क्षेत्रसँग सम्बन्धित समाचार संकलनमा बढी केन्द्रित हुन्छु ।


६ तपाईका शिक्षा र तपाईको कामको मेल?
शिक्षाको कुरा गर्दा मैले पत्रकारितामै प्रमाणपत्र, स्नात्तक र स्नाकोत्तर गरिसके । एकेडेमीक रुपमा पनि मैले पत्रकारितामा स्नाकोत्तर सकेर पत्रकारितामै त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागको एमफिलको पहिलो ब्याजको विद्यार्थी भएर अहिले थेसिसको अन्तिम अवस्थामा छु । पत्रकारिता पढेकै कारण पत्रकारितामा लागेको हो । पत्रकारिता शिक्षा र पत्रकारिताको गहिरो सम्बन्ध छ । पूर्ण रुपमा व्यवसायिक पत्रकारिता गर्नका लागि पत्रकारितानै पढेको नै हुनुपर्छ । पत्रकारिता पढेको व्यक्तिले कहिले पनि पत्रकारिताको व्यवसायिकतालाई भुल्न सक्दैन, पत्रकारितालाई आफ्नो र कसैको स्वार्थका लागि दुरुपयोग गर्न सक्दैन । ऊ जहिले पनि पूर्ण व्यवसायिक रुपमा लाग्छ । पत्रकारिताको सिद्धान्त, धर्म, दायित्व र जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्छ । मेरो व्यक्तिगत अनुभवमा व्यवासायिक पत्रकारितालाई पूर्ण रुपमा अघि बढाउनका लागि पत्रकारिता शिक्षाले ठूलो योगदान दिएको छ । विगतमा पत्रकारिता पढेर पत्रकारिता गर्नेहरुको संख्या तुलनात्मक रुपमा कम थियो । अहिले धेरै पढेको छ । संख्या मात्र पढेको छैन, नेपालको पत्रकारिताको समग्र व्यवसायिक पक्ष पनि बलियो र संस्थागत हुँदै गएको छ । यसको कारणनै पत्रकारिता पढेर पत्रकारितामा आउनेहरुको संख्या बढेर हो ।


७ तपाईले यो क्षेत्रमा काम गर्छु भनेर बाल्यकालदेखि नै तयारी गर्नु भएको थियो ?
बाल्यकालमा त मलाई पत्रकारिता भन्नेनै थाहा थिएन । मेरो पत्रकारितामा प्रवेशको कथानै रमाइलो छ । जब म २०५४ सालमा प्रवेशिका परीक्षा (एसएलसी) पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ आएँ । काभ्रेको विकट ढुंखर्क–३, गोर्खाली गाउँको एउटा सामान्य परिवारमा जन्मिएकोले दिउँसो जागिर खाएर प्रमाणपत्र तह राती पढ्ने योजना थियो । सोही अनुसार राती समूहको फर्म भर्नका लागि आरआर कजेज पुगे । फर्म भर्नका लागि समस्या भएकोले सँगै फर्म भरिरहेका एक जना साथीसँग सहयोग मागे । त्यो साथीको फर्ममा एउटा विषय पत्रकारिता लेखिएको रहेछ । मलाई पत्रकारिता कस्तो विषय भनेर जिज्ञासा लाग्यो । उनले यो पत्रपत्रिकामा लेख्नका लागि पढ्ने भनेर बुझाएँ । मैले न बुझेर फेरि सोधे । उनले रेडियोमा बोल्नका लागि पढ्ने भनेर भनेपछि मलाई बढीनै चासो लाग्यो । रेडियोमा समाचार कसरी आउँछ भनेर आत्मा विकास माविमा पढ्दाको समय सधै प्रश्न गर्ने मेरो लागि त्यो उत्तरले मनभित्र छोयो । त्यसपछि मैले पत्रकारिता एउटा विषय पढ्ने निर्णय गरे । त्यसपछि मेरो पत्रकारिताको क्यारियर सुरु भयो ।


८ तपाईको १० वर्षे योजना के छन्?
आगामी १० बर्षभित्र पत्रकारिता क्षेत्रको सफल व्यक्ति बन्ने लक्ष्य छ । पत्रकारिताको पेशा र एकेडेमिक दुवै रुपमा आफूलाई सक्षम र सबल बनाउन परिश्रम गरिरहेको छु । साथै अनुसन्धानको क्षेत्रमा पनि आफूलाई स्थापित बनाउने दौरानमा छु ।


९ जीवनमा सबै भन्दा ठूलो समस्या के देख्नु भएको थियो ?
पत्रकारिता गर्न सहज त छैन । विभिन्न वाधा अवरोधहरु त आईहाल्छन् । त्यस्तो ठूलो अवरोध त झेलेको छैन । समाचार लेखेवापत त्यसको प्रतिकृयास्वरुप केही धम्कीको भाषामा फोन आउनु, प्रतिकृया दिनु त पत्रकारिता जीवनका लागि सामान्यनै हो । सबैभन्दा ठूलो त पत्रकारिताका सबै अंग, प्रत्यंग पूरा गरेर लेख्नुपर्छ । समाचार पत्रकारिताको सिद्धान्त र धर्म अनुसारकै छ भने यसमा धम्की, अवरोध आउँदा पनि डराईहाल्नु हुँदैन । मेरो बानी के छ भने कुनै समाचार कुनै संस्था वा व्यक्तिको विरुद्धमा लेखिएको छ भने लेखिएकै दिन गएर कुरा गर्छु । एकछिन उनीहरुबाट आक्रोश आउँछ अनि भोलिपल्टदेखि सामान्यीकरण हुँदै जान्छ । एकपटक समाचार लेखेर त्यसपछि भाग्न थालियो भने त्यसले समस्यामाथि समस्या सिर्जना हुन्छ । पत्रकारितानै पेशा गर्ने भएकोले समाचार लेखेपछि सम्बन्धित निकायमा नजाने र व्यक्तिलाई भेट्दिन भन्नु गलत हुन्छ । समाचार संकलनका लागि त्यो निकाय र व्यक्तिसम्म पुग्नैपर्छ । यसकारण ठूलो समस्या नआओस् भन्नका लागि समाचार लेखेकै दिन गएर भेट्दा तत्कालीन आक्रोश समाधान भएर अघि बढ्न सक्छ ।


१० तपाईको जीवनको सबै भन्दा ठूलो असफलता के हो?
सुरुका दिनमा पत्रकारिता सिक्दै गर्दा धेरैनै कठिनाई थियो । आज जस्तो कम्युटरमा समाचार लेख्ने अवस्था थिएन । कागजमा समाचार लेखेर लगेपछि पटक पटक समाचार नमिलेको भन्दै च्यातिएर फेरि लेख्नुपरेका उदाहरण त धेरै छन् तर जब पत्रकारिता जमेर गर्न थालियो, त्यति ठूलो असफलता भोग्नुपरेन । बरु दैनिक रुपमा समाचार लेख्नुपर्ने कारणले अलि खोजमूलक र अनुसन्धानमूलक समाचार लेख्न सकिएको छैन । यो वाध्यता पनि हो तर पत्रकारिता जीवनका लागि यो सबैभन्दा ठूलो असफलता पनि हो । लेख्दै नलेखेको होइन तर जति धेरै खोजमूलक समाचार लेख्नुपर्ने हो, त्यो संख्या एकदम कम छ । जहाँसम्म पैसाको कुरा छ, पत्रकारिता पेशामा लागेपछि आर्थिक समस्या त स्वभाविक हो । पत्रकारिताबाट पैसा भन्दा इज्जत बढी पाइन्छ । धेरै पैसा कमाउँछु भनेर पत्रकारितामा लाग्ने नै होइन ।


११ तपाईको सफलताको प्रेरणा को हुन?
पत्रकारितामा पाएको सफलताको पछाडी सबैभन्दा ठूलो हात त परिवारकै छ । त्यो भन्दा पनि ठूलो साथ पत्रकारिता पेशा र शिक्षाका गुरुहरुको छ । पेशामा युवराज घिमिरेदेखि कुवेर चालिसेसम्म अनि पत्रकारिता शिक्षाका पी खरेल, चिरञ्जीवी खनालदेखि डा. सुधांशु दाहालसम्मको योगदान मेरो सफलताको पछाडी छन् । यसक्रममा धेरै गुरु र सम्पादकहरुको साथ, सहयोग, सुझाव र सल्लाह छ । समाचार लेखेपछि यसबारे सुझाव, प्रतिकृया, आलोचना गर्नेहरुको सहयोग त झन सफलताको लागि ठूलै छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कोषाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्ष हुने बेलासम्ममा संस्थापक अध्यक्ष प्रतिक प्रधानदेखि निवर्तमान अध्यक्ष पुष्पराज आचार्यसम्मका आउँदासम्मका सबै अध्यक्षहरुको योगदान पनि विर्सन नसक्ने छ ।


१२ सफल हुन के शुत्र चाहिन्छ ?
हरेक क्षेत्रमा सफलता पाउनका लागि सबैभन्दा ठूलो त पेशाप्रतिको प्रतिवद्धता र व्यवसायिकतानै हो । अध्ययन, परिश्रम, मेहनत र खोजमा निरन्तर लागिरहे सफलता हात पार्न सकिन्छ । मेरो जीवनले सिकेको त्यही होन, मेहनत, परिश्रम गर्नका लागि कहिल्यै थाक्नु हुँदैन । सिक्ने कुरामा कहिल्यै भाग्नु हुँदैन । आफू लागेको पेशाप्रति उच्च गौरव राखेर पूर्ण प्रतिवतद्धताका साथ लाग्नुपर्छ ।


१३ तपाईको सबै भन्दा ठूलो सपना के हो ?
पत्रकारिता पेशामा सफल पत्रकार, सफल प्रशिक्षक र अनुसन्धानकर्ता बन्ने सपना छ । त्यो सपना पूरा गर्नका लागि निरन्तर रुपमा लागिरहेको छु ।


१४ तपाईका आज सम्मको अविश्मरणिय दिन कुन हो?
पत्रकारिता क्षेत्रमा सफलताको लागि संघर्ष गरिरहेको छु । अहिले ठूलो सफलता हासिल गरेको छु जस्तो लाग्दैन । पत्रकारिता क्षेत्रमा निरन्तरता दिन सक्नुनै अहिलेको सफलता हो । पत्रकारिता गर्ने र पढाउने काम गरिरहेको छु । अनुसन्धानमा पनि संलग्न हुन थालेको छु । भविष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने लागेको छ ।

१५ पत्रकारिता पेशा अंगाल्न चाहने युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
पत्रकारिता पेशा सबैभन्दा उत्कृष्ट पेशा हो । म पत्रकारिता पेशामा रहेकोले यो भनेको होइन । संसारमा आजको युगमा सबैले खोज्ने सबैभन्दा ठूला कुरा भनेको सूचना हो । पत्रकारिता त्यस्तो पेशा हो, जस्ले सबैभन्दा पहिला सूचना प्राप्त गर्छ । फष्ट ह्याण्ड सूचना पाउने र त्यो सूचना असंख्य जनसमुदायलाई दिने पेशाभन्दा ठूलो पेशा अरु के हुन सक्छ । पत्रकारिता पेशा त्यस्तो पेशा हो, जहाँ इज्जत र पैसा दुवै पाउन सकिन्छ । व्यापार जस्तो पैसा त कमाउन सकिदैन तर पत्रकारितामा लागेर आजको दिनमा इज्जतका साथ बाँच्न सकिन्छ । इज्जत त धेरै हुन्छनै । हरेक समाचार पढ्दा कस्ले लेखेको रहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अरु पेशा गर्नेले हरेक क्षेत्रको सूचना पाउन सक्दैनन तर पत्रकारिता पेशामा लाग्नेले सहज रुपमा पाउँछन् । कामनै सूचना संकलन गर्ने हो । यसकारण मलाई सबैभन्दा उत्कृष्ट पेशा यही लाग्छ । अझ कति पैसा, जग्गा र घोडा छन् भन्ने आधारमा धनी कहलिने युग सकिएको छ । जोसँग सबैभन्दा धेरै सूचना छ, त्यो सूचना भएको व्यक्ति दक्ष र क्षमतावान हुन्छ । त्यही व्यक्ति संसारको धनी हुन्छ । सूचनाको धनी व्यक्तिनै आजको युगमा धनी हुने हुनाले धनी व्यक्तिभित्र पत्रकार पनि पर्छन । यसकारण युवावर्गले ढुक्कका साथ यस्तो उत्कृष्ट पेशामा आउँदा हुन्छ तर यस पेशामा आउनका लागि अध्ययन, खोज, परिश्रम र मेहनतको आवश्यकता पर्दछ ।